१ असार २०८२ , आईतवार

मनसुनअघि नै पर्सामा डेङ्गु नियन्त्रण अभियान सुरु

News
१ असार, काठमाण्डौँ ।

स्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज महानगरको ३२ वटै वडासहित पर्साका पालिकामा यसपालिको मनसुनअगावै डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान अघि सार्ने भएको छ।

विगतका वर्षहरूमा स्वास्थ्य कार्यालय र वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखाको अगुवाइमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियान प्रभावकारी भएसँगै यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताए।

“डेङ्गुको लार्भा नष्ट गर्न हरेक वडा कार्यालयमा १० जनाको टोली बनाई तीन दिनसम्म जनचेतनामूलक कार्यक्रम गर्न लागिएको छ, लार्भा नष्ट गर्ने तालिका भने छिट्टै सार्वजनिक गरिने छ”, उनले भने।

जनस्वास्थ्य अधिकृत ठाकुरले स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक पर्ने बायोडार्ट सप्लाई पनि दिँदै आइरहेको जानकारी दिए। “टोलटोलमा बायोडार्ट औषधि छर्र्किएका कारणले पनि लामखुट्टेको विकास हुन पाइरहेको छैन”, उनले भने, “यस वर्ष पनि हामीले प्रभावकारी अभियान अघि बढाउँछौँ।”

स्वास्थ्य कार्यालयले चालु आवमा १६ वटा औषधि छर्कने टयाङ्की, एक हजार बायोडार्ट औषधिको झोल वीरगञ्ज महानगरअन्तर्गतका १ देखि १६ नम्बर वडा कार्यालयमा उपलब्ध गराएको छ। अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे।

वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले पछिल्ला वर्षमा वीरगञ्ज महानगरमा डेङ्गुका सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुँदै आइरहेको जानकारी दिए।

“चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरमा १६ हजार ३३४ डेङ्गुको जाँच गर्दा चार सय ७० जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ”, उनले भने, “गत आर्थिक वर्षमा भने चार हजार ७८१ जनाको डेङ्गु जाँच गर्दा तीन सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।”

त्यस्तै आव २०७९÷८० मा दुई हजार ६६१ जना जनाको डेङ्गु जाँच गर्दा एक सय ९९ जना डेङ्गुका सङ्क्रमित भेटिएका थिए। चालु आवमा वीरगञ्ज महानगर क्षेत्रमा छिमेकी मुलुक भारतबाट आएका १४ बिरामीमा मलेरिया देखिएसँगै आवश्यक उपचार गरिएको थियो।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले सरसफाइ अभियान प्रभावकारी ढङ्गले अघि बढाउँदै आएको बताए। “महानगरको सरसफाइको अभियानले पनि वीरगञ्ज सरसफाइ गराउन सम्भव भएको छ”, उनले भने , “महानगरले साढे दुई वर्षको अवधिमा मात्र फोहरमैला जथाभावी फ्याँक्नेबाट रु ६६ लाखभन्दा बढी जरिवाना तिराएको छ।”