स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षा र नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरेका छन्। युएई भ्रमणका क्रममा स्वास्थ्य मन्त्री पौडेलले त्यहाँका स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग शिष्टाचार भेट गर्दै यस्तो आग्रह गरेका हुन्।
मन्त्री पौडेलले युएई नेपाली श्रमिकको प्रमुख गन्तव्य भएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य रक्षाका लागि युएई सरकारबाट सहयोगको अपेक्षा गरेको बताए। उनले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागु गर्न चाहेको जानकारी गराए। साथै, नेपालमा मिर्गौला डायलासिस केन्द्रको स्तरोन्नति र विस्तार तथा अङ्ग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
जवाफमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न युएई तत्पर रहेको बताए। उनले यसका लागि दुई देशबिच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नु आवश्यक रहेको औंल्याए। युएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै अध्यक्ष मन्सुरीले नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए। यद्यपि, यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुनु आवश्यक रहेको उनको भनाइ थियो।
भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए। मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।