२२ जेष्ठ २०८२ , बिहीबार

लहान नगरपालिकाको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम प्रभावकारी

News
२० जेष्ठ, काठमाण्डौँ ।

लहान नगरपालिकाले सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम प्रभावकारी देखिएको छ। स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलालाई पोषण प्याकेज प्रदान गर्ने कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन सहयोग पुगेको छ।

लहान नगरपालिका–२० स्थित मलहन्वाकी महिला स्वास्थ्य स्वयंसेविका चन्द्रमाला सिंह २०४७ सालदेखि यस क्षेत्रमा कार्यरत छिन्। उनी गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने काम गर्छिन्। पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून भए पनि पछिल्ला वर्षमा सो सङ्ख्यामा वृद्धि भएको उनको अनुभव छ।

लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए। यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज लहान–२० का ४८ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ।

नगरप्रमुख चौधरीले महिलामा पोषणको कमी नहुने र मापदण्डअनुसार नियमित परीक्षण कार्यक्रम प्रभावकारी हुने भएकाले यस कार्यक्रमलाई आफू नगरप्रमुख भएदेखि सञ्चालन गरेको बताए। उनले आगामी दिनमा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। वडा नं १६ को तरेगणा र वडा नं १९ को सोनवतीमा ‘बर्थिङ सेन्टर’ निर्माण गर्न लागिएको जानकारी उनले दिए।

वडा नं २० का वडाध्यक्ष गणेशप्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारका लागि प्रभावकारी भएको बताए। सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाबिनलगायत खाद्यान्न सामग्री छन्।