१३ बैशाख २०८२ , शनिबार

नेपाल चिकित्सक संघको आन्दोलन जारी, भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

News
११ बैशाख, काठमाण्डौँ ।

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नभएको भन्दै आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ। आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाएको र विभिन्न ठाउँबाट धम्की आएको कारण आन्दोलनमा उत्रनु परेको संघले जनाएको छ।

आजको घेराउ कार्यक्रममा सहभागी चिकित्सकहरूलाई धन्यवाद दिँदै संघले भोलि देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरूमा आकस्मिक र सघन उपचार सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने र उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराएको छ।

आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले चेतावनी दिएको छ। संघले नागरिक समाज, पत्रकार र सम्पूर्ण सरोकारवालाहरूलाई आन्दोलनमा सहयोग गर्न अनुरोध गरेको छ।

यस आन्दोलनका कारण सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा मागेको छ र यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।