यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ। अस्पतालले नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरेको जनाएको छ। दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो।
अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो। डा ठाकुरले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताए।
यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताए। यो रोगले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्षमुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ।