रौतहटको वृन्दावन नगरपालिका-७ निवासी १४ वर्षीय कृष्ण प्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। पाँच दिनदेखि हराइरहेका यादवको शव गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा शुक्रबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार यादवको शव पानीमा घोप्टो अवस्थामा बिहान ९ बजे फेला परेको थियो। घटनाको जानकारी पाएलगत्तै डीएसपी कार्की सहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
डीएसपी कार्कीले शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको बताए। बालकको पेट र कन्चटमा गहिरो चोट देखिएकाले धारिलो हतियारले प्रहार गरिएको हुनसक्ने अनुमान गरिएको छ।
शव पूर्ण रूपमा गलेर किरा लागेको अवस्थामा फेला परेको र पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वैशाख ६ गते बेलुकी ४ बजे बिर्ता गाउँ जान्छु भनी मोटरसाइकल चढेर निस्किएका यादव घर नफर्किएपछि परिवारले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय गरुडामा खोजतलासका लागि निवेदन दिएका थिए।
इलाका प्रहरी कार्यालय गरुडाले घटनाको थप अनुसन्धान सुरु गरिएको जनाएको छ।