सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले रुपन्देही जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। एक विशेष अपरेशनमा, प्रहरीले १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ बराबरको विभिन्न किसिमका चोरीपैठारीका सामानसहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो।
बुटवल उपमहानगरपालिका-६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गमा गरिएको जाँचका क्रममा लु १ ज ३७९६ नम्बरको बोलेरो पिकअप गाडीमा राखिएको ६१ बोरा चिउरा र लत्ताकपडा बरामद भएको छ। बुटवलबाट पोखरातर्फ जाँदै गरेको उक्त गाडीमा ७ लाख ६४ हजार ५ सय ३५ रुपैयाँ बराबरको सामान फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
त्यस्तैगरी, बुटवल उपमहानगरपालिका-१३ जितगढी स्थित पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा लु १ च ५६२० नम्बरको गाडीमा ६ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त गाडीलाई पनि नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएका सामान र दुवै गाडीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ। बरामद सामानको १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ र दुईवटै गाडीको २२ लाख रुपैयाँ गरी जम्मा ३६ लाख ४ हजार ७ सय ६५ रुपैयाँ भन्सार दाखिला हुने अनुमान गरिएको छ।