२९ बैशाख २०८२ , सोमबार

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

News
२८ बैशाख, बागलुङ ।

बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुईवटा स्वास्थ्य चौकीका भवन निर्माण सम्पन्न भएका छन्। नगरपालिकाको वडा नं. १ दुदिलाभाटी र वडा नं. ७ मल्ममा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरिएका हुन्।

वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले नयाँ संरचना थप गरेको हो।

दुवै स्वास्थ्य चौकीको निर्माण कार्य अघिल्लो वर्ष सुरु भएको थियो। दुदिलाभाटी स्वास्थ्य चौकीको भवन २०८० मङ्सिरमा सम्झौता गरी निर्माण सुरु भएको थियो। विष्णु निर्माण सेवाले रु. एक करोड ८१ लाख ५८ हजार ६८० को लागतमा निर्माणको जिम्मा पाएको थियो र यो भवन गत माघमा सम्पन्न भएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए।

त्यस्तै, मल्म स्वास्थ्य चौकीको भवन २०८० असारमा सम्झौता भई निर्माण सुरु भएको थियो। जयकालिका भगवती/केसी निर्माण सेवा जेभीले रु. दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्ने जिम्मा पाएको थियो र यो भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो।

प्रवक्ता भण्डारीका अनुसार गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ। "पालिकाका सबै स्वास्थ्य चौकीका सुविधायुक्त भवन बनेपछि यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ। आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ। कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन्," उनले भने।

दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताइन्। एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ।

गलकोट नगरपालिकाले पालिकाका ११ वटै वडामा स्वास्थ्य सेवा पुर्‍याएको छ। गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए। उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्। नगरपालिकाले नौ स्थानमा बर्थिङ सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ। गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए।