२१ जेष्ठ २०८२ , बुधबार

यातायात बन्दको असर: पर्यटकीय बस भने सञ्चालनमा

News
१९ जेष्ठ, काठमाण्डौँ ।

यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन्।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन्। तर पर्यटकीय बस भने सञ्चालनमा आएका छन्।

‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए।

“विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने। आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने उनको भनाइ थियो।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै निष्कर्षमा पुग्नुपर्ने बताए। उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए। यस्तो आन्दोलनले मुलुकको समग्र पर्यटन व्यवसायमा असर पर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ थियो।

यातायात व्यवसायी तथा मजदुरले गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित नीजि सवारीसाधनलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै एक हप्तादेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। उनीहरुले आजदेखि आफ्नो सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रेका छन्।