काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
विज्ञप्तिका अनुसार गत चैत्र १५ गते काठमाडौं महानगरपालिका वडा नं. ३२ तीनकुने स्थित खुल्ला चौरमा "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल" द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानका क्रममा तोडफोड तथा आगजनीमा संलग्न जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल ३ घर भएका वर्ष ४० को मनोज भन्ने मिनोज थापालाई पक्राउ गरिएको हो।
पक्राउ परेका थापालाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।