१२ बैशाख २०८३ , शनिबार

कतारको रोजगारी छाडेर भेडापालनमा रमाउँदै टिका पुन

News
१५ जेष्ठ, काठमाण्डौँ ।

म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्ती गोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन्।

रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेपछि घर फर्कनुभएका ४१ वर्षीय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्यागेका थिए। उनले भने, ‘‘मरुभूमिको देशमा काम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिएँ, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दा आफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु।’’

पुनले विगत १४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन्। उनलाई भेडीगोठमा उनकै छोरा प्रतिक पुनले सहयोग गरेका छन्। विद्यालय तहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लागेका हुन्। गाउँमा परम्परागत रुपमा हुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुगे पनि पुनका बाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन्।

सुरुआतमा रु ६ लाख लगानीमा १५० वटा भेडा खरिद गरेर घुम्ती गोठ सुरु गर्नुभएका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन्। वर्षमा ७० वटासम्म भेडा, साँड, खसी बिक्री हुने गरेको पुनले बताए। वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमा पाल्न गरिने भेडा, साँड र खसीको माग अत्यधिक हुने भएकाले विक्रिका लागि बजारको अभाव हुँदैन्।

खासगरी विभिन्न थानहरुमा भाकल पूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्य कार्यहरुका लागि खसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताए। भेडापालनलाई व्यवसायिक र व्यवस्थित गर्न पुनले भेडापालन फर्म नै दर्ता गरेका छन्।

भेडापालनमा लागेको बर्षौ भए पनि अहिलेसम्म राज्यबाट कुनै सुविधा नपाएको पुनको गुनासो छ। बार्षिक रुपमा फर्मबाट सरकारलाई कर तिर्दै आए पनि आफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्त नभएको उनले बताए।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउन माग गर्दै आएका छन्। भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रका बुकीमा त्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुला आकाशमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन्। पछिल्लो समय घुम्ती गोठको भेडापालन हराएर जान थालेको छ। चिमखोला गाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ। घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमा गोठ झार्ने गरिन्छ।