२७ बैशाख २०८२ , शनिबार

सिरहामा शिक्षकद्वारा विद्यार्थी कुटपिट, बालक गम्भीर घाइते

News
२६ बैशाख, काठमाण्डौँ ।

सिरहाको गोलबजार नगरपालिका-७, चोहर्वास्थित एपेक्स विद्या मन्दिरका एक शिक्षकले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थी गम्भीर घाइते भएका छन्।

शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका-३, खोरीयाका सुरेश यादवका १३ वर्षीय छोरा अविनाश यादवलाई निर्घात कुटपिट गरेका हुन्।

अविनाशलाई शिक्षक गुप्ताले कक्षाकोठाबाट निकालेर अर्को कोठामा थुनेर बाँसको लाठीले मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित परिवारले जनाएको छ। बालकको शरीरमा गम्भीर चोट लागेको छ र उनको हाल गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले घटनाको पुष्टि गर्दै कुटपिटमा संलग्न शिक्षक सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानून बमोजिम कडा कारबाही गरिने बताए।

अस्पतालले बालकको प्रारम्भिक उपचार भइरहेको जनाएको छ। विद्यार्थीमाथि भएको यो क्रुर व्यवहारको घोर भर्त्सना गर्दै अभिभावकहरूले दोषी शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्। पीडित अविनाशका अभिभावकले इलाका प्रहरी कार्यालयमा शिक्षकविरुद्ध जाहेरी दर्ता गराएका छन्।