तनहुँको म्याग्दे गाउँपालिका–५ का बतेनीटार, साउनेपानी र कवादीका २०० घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। संघीय सरकारको तीन करोड रुपैयाँ बजेटमा बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयले लामो समयदेखिको पानीको समस्याबाट मुक्ति पाएका हुन्।
स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएकाले विगतमा एक गाग्री पानीका लागि बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन्। “घरआँगनमै धारा जडान भएपछि दुःखका दिन बिर्सिएँ,” उनले भनिन्। सोही वडाकी राधाकुमारी थापाले खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न सहज भएको सुनाइन्।
उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार आयोजनाअन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कलन गर्न तीनवटा ट्याङ्की निर्माण गरिएका छन्। तीमध्ये दुईवटा ५०/५० हजार लिटर र एउटा ७५ हजार लिटर क्षमताका छन्। आयोजना पूरा भएसँगै करिब ९०० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन्।
म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४सै घण्टा पानी आउने भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए। “अहिले खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ,” उनले भने। विगतमा महिलाको अधिकांश समय पानी बोक्नमा बित्ने गरे पनि अहिले उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन्।
म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए। “खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको छ,” उनले भने।