१४ बैशाख २०८२ , आईतवार

पृथ्वीराजमार्गको आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा चालकको मृत्यु, एक घाइते

News
४ बैशाख, काठमाण्डौँ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज (सोमबार) दिउँसो तरकारी बोकेको जिप र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटरमा सवार अर्का एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ निवासी २० वर्षीय रुपेश गुरुङ रहेका छन्। आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशा अर्थात् मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१६प १५७० नम्बरको स्कुटर डम्पिङ क्षेत्रमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए।

सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार आँबुखैरेनी गाउँपालिका–३ कै १९ वर्षीय रोहन मगर घाइते भएका छन्। उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।