१४ बैशाख २०८२ , आईतवार

बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा : सुजनले तेस्रो पटक निरन्तरता दिए

News
२ बैशाख, काठमाण्डौँ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित बोडेमा हरेक नयाँ वर्षको दोस्रो दिन (वैशाख २ गते) मनाइने ऐतिहासिक एवं अनौठो 'जिब्रो छेड्ने जात्रा' यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।

यस पटक २८ वर्षीय सुजन बागश्रेष्ठले आफ्नो जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। यो उनको तेस्रो पटक हो। सुजनले दुई वर्षअघि आफ्ना पिता बुद्धकृष्ण बागश्रेष्ठबाट यो जिम्मेवारी लिएका थिए, जसले जात्रामा पुस्तान्तरण भएको संकेत गर्दछ।

सुजनका पिता ५० वर्षीय बुद्धकृष्णले नौ पटकसम्म जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। उनीभन्दा अघि उनका दाजु (सुजनका ठूलाबुवा) कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेर यो परम्परा धान्दै आएका थिए।

जिब्रो छेड्नुअघि सम्बन्धित व्यक्तिले कडा नियम पालन गर्नुपर्ने परम्परा छ। चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले निश्चित अवधिसम्म अशुद्ध मानिएका व्यक्ति, महिला, जुठो, सुतक परेकाहरूलाई छुन नहुने, नुन खान नहुने र बोडे क्षेत्र छाडेर बाहिर जान नहुने जस्ता नियमहरू पालना गर्नुपर्दछ। यो जात्रा बोडेको मौलिक पहिचान र सांस्कृतिक निरन्तरताको प्रतीक मानिन्छ।