सुदूरपश्चिम प्रदेश सभाले विपक्षी दलका सांसदहरूको बहिष्कारका बीच 'स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पारित गरेको छ।
सोमबार बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रक्रिया नपुगेको भन्दै विपक्षी सांसदहरूले सदन छोडेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीद्वारा प्रस्तुत विधेयकमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले मात्र भाग लिएको भन्दै विपक्षीले आपत्ति जनाएका थिए।
विपक्षीको बहिस्कार पछि पनि सभामुख भीम बहादुर भण्डारीले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरेका हुन्। सोही बैठकले प्रदेश सभा सचिवालय सम्बन्धी ऐन संशोधन विधेयक पनि पारित गरेको छ। यो घटनाले सत्तापक्ष र प्रतिपक्षबीच बढ्दो दूरीलाई संकेत गरेको छ।