इलाममा विद्यालय नखुल्दा विद्यार्थीहरू लागूऔषध दुर्व्यसनमा फस्ने क्रम बढ्दो छ । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राख्दा उनी लागूऔषध प्रयोगकर्ता भएको पत्ता लाग्यो । "विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ", बालककी आमाले भन्नुभयो, "विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।"
नयाँ शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनुपर्नेमा विद्यालय बन्द छन् र विद्यार्थी घरघरमा छन् । शिक्षकलाई सरकारले माग पूरा गर्छ कि गर्दैन भन्ने चिन्ता छ भने अभिभावकलाई बालबच्चा बिग्रिएलान् भन्ने पिरलो छ ।
सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए । "सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा संलग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ," उनले भने ।
जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या चुनौतीपूर्ण रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । "बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ । अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ," उनले भने ।
हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । "यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् । हामीलाई उनीहरूको चिन्ता छ । राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ", शिक्षक खड्काले भने ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । "लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ," उनले भने ।