१९ जेष्ठ २०८२ , सोमबार

सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना विवाद समाधान गर्न कार्यदल गठन

News
१७ जेष्ठ, काठमाण्डौँ ।

सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला बिचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ। कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो।

समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके, सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य छन्।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ। २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद छ।

बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरूको उपस्थिति थियो।