१४ बैशाख २०८२ , आईतवार

धरानमा महिलाको हत्यामा संलग्न ६ जना सार्वजनिक, श्रीमान् मुख्य योजनाकार

News
५ बैशाख, काठमाण्डौँ ।

धरान उपमहानगरपालिका-६ स्थित पाचकन्या सामुदायिक वनमा मृत भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीया चुनकुमारी दाहालको हत्यामा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेका हुन्। तिम्सिनाका अनुसार मृतक चुनकुमारी दाहाललाई निजको श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजना र निर्देशनमा अन्य ५ जनाको सहयोगमा कर्तव्य गरी मारेको खुलेको छ।

पक्राउ पर्नेहरूमा मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका-३ संगम चोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी, निजकी श्रीमती २५ वर्षीया सृष्टी बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका-७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका-५ फागुटोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम, २८ वर्षीया डेनु गौतम, र मोरङ पथरी शनिश्चरे नगरपालिका-३ बस्ने ४० वर्षीय केशवराज दाहाल रहेका छन्। यसैगरी, भारतीय नागरिक आसाम खकन वस्ती बस्ने ३५ वर्षीय राजु थापा मगर फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

घटनामा प्रयोग भएको प्रदेश १-०२-०४३ प ६८६२ नम्बरको १५० सिसिको पल्सार मोटरसाइकल, मधेश प्रदेश ०३-०२६ प ७१४४ नम्बरको मोटरसाइकल, प्रदेश १-०२-००४४ प १०५९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

गत चैत २५ गते धरान-६ पाँचकन्या सामुदायिक वनमा मृतक दाहालको शव फेला परेको थियो। उनको घाँटीमा झोलाको फित्ता बेरिएको अवस्थामा रुखको फेदमा शव भेटिएको थियो।

अनुसन्धानबाट खुलेअनुसार श्रीमान्-श्रीमतीबीच मनमुटाव, श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कोरियामा रहँदै आएको र श्रीमती अर्कैसँग लागेको शंका तथा मृतक महिलाले डिभोर्स दिन नमानेपछि हत्याको योजना बनाएको अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक तिम्सीनाले बताए।