१३ बैशाख २०८३ , आईतवार

श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सम्पन्न, खानेपानी मन्त्रीद्वारा उद्घाटन

News
२२ बैशाख, काठमाण्डौँ ।

इलामको श्रीअन्तुमा श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ। आईतबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताए।

मन्त्री यादवले प्रत्येक नेपालीका घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने उनले बताए।

खानेपानी तथा ढल व्यवस्थापन विभागका निर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले यस आयोजनाअन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ परिवारका ११ हजार ७६९ जना प्रत्यक्ष लाभान्वित हुने बताए। यस आयोजनाअन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ।

यस आयोजनाको क्षेत्रफल १८ दशमलव आठ वर्ग किलोमिटर रहेको छ। आयोजनाको लागत रु ३७ करोड ७२ लाख रहेको र त्यसमा १० प्रतिशत स्थानीय समुदायको साझेदारी रहेको आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनले जानकारी दिए।