कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा केही दिनदेखि तातो हावा (लु) चल्न थालेपछि बढेको गर्मीले जनजीवन प्रभावित भएको छ। कैलालीको अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार अहिले ‘प्रि-मनसुन’ को समय चलिरहेकाले गर्मी बढेको हो।
कार्यालयका जलवायु विज्ञ सञ्जय साहले धनगढीको अधिकतम तापक्रम यो वर्षकै उच्च ४०.८ डिग्री सेल्सियस मापन भएको जानकारी दिए। सोमबार धनगढीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो। "प्रि-मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने जस्ता लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझै तापक्रम बढ्न सक्ने सम्भावना छ," उनले भने।
मनसुन भित्रिन अझै डेढ महिना बाँकी छ। गर्मी बढेसँगै धनगढी क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने समस्या पनि बढेको छ। साथै, कैलाली लगायतका जिल्लामा आगलागीका घटनाहरू पनि बढ्न थालेका छन्।
धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति धेरै गर्मी पहिलो पटक महसुस गरेको बताए। "वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ। जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ," उनले भने।