१३ बैशाख २०८२ , शनिबार

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

News
१३ बैशाख, पर्सा ।

जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै चार ठाउँबाट विवरण सङ्कलन गर्ने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने जानकारी दिए । “विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको छ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयको विवरण सङ्कलन गरिनेछ । इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका कार्यालयबाट महानगरका ३२ वटै वडाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ । पोखरिया नगरपालिका कार्यालयबाट पोखरिया नगरपालिका, छिपरमाई, पकहाँमैनपुर, धोविनी र कालिकामाई गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ ।

पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन् । सहायक प्रजिअ कार्कीले ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जानकारी दिए । “अहिलेसम्म २३ हजार भन्दा बढी सेवाग्राहीले छापिएर आएको राष्ट्रिय परिचयपत्र लिइसक्नुभएको छ,” उनले भने ।

कार्यालयले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र तत्काल वैदेशिक रोजगारीमा जानुपर्ने सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको जनाएको छ ।