नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यका लागि रात्रिकालीन सवारी आवागमन रोक्ने अवधि आगामी वैशाख ३१ गतेसम्म थप गरिएको छ ।
यसअघि यही वैशाख १५ गतेसम्म राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेकामा, त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन जारी रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिनेछ ।
"दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ," उनले भने, "सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।”
यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११:०० देखि ३:०० बजेसम्म र २०८१ वैशाख १ गतेदेखि रातिको ११:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
नारायणगढ–बुटवल सडकको कुल ११४ किलोमिटरमध्ये गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर पूर्वी खण्डमा पर्दछ । यस खण्डमा बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेन र जोखिम बढी रहेको मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । करिब रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।