चितवनको भरतपुर महानगरपालिका-७, वंशिचोकमा आज बिहान दुई मोटरसाइकल ठोक्किँदा आगलागी भएको छ। उक्त दुर्घटनामा एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने दुई जना घाइते भएका छन्।
बिहान ८ः४० बजेतिर गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको लु २७ प २११७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। ठक्करबाट एक मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् र उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ना ५३ प ११७३ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय सविन कुमालको हातखुट्टामा चोट लागेको छ भने लु २७ प २११७ नम्बरका मोटरसाइकल चालक ३५ वर्षीय रामकुमार महतोको दाहिने हात भाँचिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।