२९ जेष्ठ २०८२ , बिहीबार

महोत्तरीको निगौल गाई गौशाला बेहाल, दरभङ्गा महाराजको नासो अलपत्र

News
२७ जेष्ठ, काठमाण्डौँ ।

छिमेकी भारतको पुरानो दरभङ्गा राज्यका महाराज रामेश्वर सिंहको नासो महोत्तरीको गौशालास्थित निगौल गाई गौशाला अहिले लथालिङ्ग बनेको छ। साधन स्रोत भएर पनि त्यसको कुशल व्यवस्थापन नहुँदा एक समयको साख मानिने गाई गौशालाको अवस्था अहिले नाजुक बनेको हो।

विसं १९८३ तिर तत्कालीन दरभङ्गा महाराज रामेश्वर सिंहले २०० बिघा जग्गा र एक हजार ५०० लैना गाईको व्यवस्थापन गरेर नेपाल सरकारलाई जिम्मा लगाएका निगौल गाई गौशाला अहिले भद्रगोल बनेको छ। दरभङ्गा महाराजले आफ्ना प्रतिनिधि ब्रह्मदेव ठाकुरमार्फत गौशाला सञ्चालनको प्रबन्ध नेपाल सरकारलाई सुम्पेका थिए। त्यसयताका १०० वर्षमा यसको विकासको सट्टा अधोगति हुँदै जाँदा अब निगौल गाई गौशाला अस्तित्व धान्न नसक्ने अवस्थामा पुगेको छ।

कहिलेकाहीँ सरकारका मन्त्री, विभिन्न निकायका प्रमुख र जनप्रतिनिधि पुगेर अब यो फेरिन्छ भन्ने गरेका कुरा अब यहाँका बासिन्दाका लागि पत्यारिलो हुन छाडेको छ।

गौशाला र निगौलमा गरी छवटा गोठमा भरिभराउ रहने गाई अहिले तीनवटा गोठमा खुम्चिएका छन्। २०६८ सालसम्म यहाँ गाईको सङ्ख्या झन्डै ५०० को हाराहारीमा रहेकामा अहिले यो सङ्ख्या १०० मुनि खुम्चेको छ। गौशाला नगरप्रमुख डा. दीपेन्द्र महतोले सङ्घीय सरकारले यसको निदानमा पहिलो तत्परता देखाउन पर्ने बताए।

निगौल गाई गौशालासँग भएको जग्गाको वैधानिक स्वामित्व, गोठ र भवनहरुसहितका संरचना व्यवस्थित गर्नसके यो ठाउँ धार्मिक पर्यटन र आर्थिक उपार्जनका लागि उर्वर बन्न सक्ने आपूmसँग कार्ययोजना रहेको डा. महतोको भनाइ छ। उनले स्वामित्वसहितको जिम्मेवारी दिन अड्चन भए व्यवस्थापनको जिम्मा मात्र दिए पनि नगरपालिकाले यसको सम्भार गर्ने प्रतिबद्धता जनाएका छन्।

निगौल गाई गौशाला सञ्चालनका लागि अहिले पनि स्रेस्तामा १४८ बिघा जग्गा छ। गौशाला दरभङ्गा महाराजबाट उपहारमा प्राप्त नासो भएकाले यसको अतिक्रमित जग्गा स्वामित्वमा फर्काउन सङ्कल्पसहितको योजना चाहिने गौशाला–२ निगौलकै बासिन्दा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी बताउँछन्।

गाई गौशालाको नाउँमा १४८ बिघा जग्गामध्ये राजनीतिक क्षेत्रबाट संरक्षित व्यक्तिहरुबाट झन्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको जनाइएको छ।