२० बैशाख २०८३ , आईतवार

महाकाली नदी: इन्दु राईको जीविकोपार्जनको आधार

News
१९ जेष्ठ, काठमाण्डौँ ।

भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ। डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्।

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताए। उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्।

“ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ। उनको माछा मार्ने तरिका भने भिन्दै छ। खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्छिन्। माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन्। नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ।

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताए। उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन। अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन्। माछा मार्न उनी समूह बनाएर जाने गर्छिन्।

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी बताउँछिन्। घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन्। “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ”, चौधरीले भनिन्। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन्।