लुम्बिनी प्रदेशमा गत चैत महिनामा मात्रै ४०२ वटा सवारी दुर्घटना भएका छन्। प्रदेशका १२ वटै जिल्लामा भएका ती दुर्घटनामा परी ३६ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीका अनुसार फागुनको तुलनामा चैतमा दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ। फागुनमा ३९ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा परी रूपन्देही र दाङमा सबैभन्दा धेरै १०/१० जनाको मृत्यु भएको छ। पाल्पा, रोल्पा र रुकुमपूर्वमा भने मृत्युको संख्या शून्य रहेको छ। बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन/तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए। दुर्घटनामा परी ७४५ जना घाइते भएका छन्।
दुर्घटनामा संलग्न सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। कुल दुर्घटनाको ६० प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको पाइएको छ। त्यसैगरी बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक/ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटनामा संलग्न छन्। सडकको अवस्था र चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको प्रहरीको ठहर छ। लुम्बिनीका धेरै स्थानमा सडकको स्तरवृद्धि नहुनु र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको प्रहरी प्रमुख कार्कीले बताए।