३१ बैशाख २०८२ , बुधबार

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन सुरु, नीति तथा कार्यक्रम र बजेटमा छलफल

News
३१ बैशाख, बुटवल ।

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजबाट सुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाएका थिए।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताए। उनले अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गरे। प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको उनको भनाइ छ।

नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले यथार्थपरक बजेट ल्याउन सुझाव दिइन्। चालु वर्षमा घाटाको बजेट देखिएकाले वास्तविक अवस्था झल्किने बजेट ल्याउन उनले आग्रह गरिन्। माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राखे।

प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिए। निर्वाचन क्षेत्रमा विनियोजित बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिए।

प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

सभामुख घर्तीमगरले प्रदेशसभाको आगामी बैठक भोलि जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्ने जानकारी दिँदै आजको बैठक सम्पन्न भएको घोषणा गरे।