म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा एक दशकअघि परीक्षणका रूपमा गरिएको किवीखेती अहिले पकेट क्षेत्रको रूपमा विस्तार भएको छ। विसं २०७२ मा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौँबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रूपमा खेती गरेका थिए। तत्कालीन समयमा लगाएका बोटले छ वर्षपछि फल दिन थालेपछि स्थानीय किवीखेतीमा आकर्षित भएका हुन्।
विसं २०७४ मा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवीखेतीको लहर चलेको थियो। किवीखेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवीखेती विस्तार भएको छ। भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए। उनका अनुसार भकिम्लीमा अहिले कृषकहरुले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन्।
वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर किसानहरु गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागि परेका छन्। भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ। किवीखेतीको अगुवा किसानको रुपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले दुर्य सय ५० बोट किबी लगाएका छन्। गाउँका युवाहरुले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवीखेती सुरु गरेका छन्। वडामा हाल ५० भन्दा बढी किसान किवीखेतीमा छन्।
किवीखेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए। चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाबाट विनियोजन भएको रु. १२ लाख बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताए।
किवी पकेट क्षेत्र कार्यक्रममार्फत यसवर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ। किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाङ्गिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ। किवीखेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन्। किवी पकेट क्षेत्र विस्तारले किसानमा किवीखेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहनुभएका किसान रत्न जिसीले बताए।
वैदेशिक रोजगारको विकल्पमा किवीखेती
बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवीखेती सुरु गरेका छन्। दुई वर्षदेखि किवीखेतीमा लाग्नुभएका मगरले ११० वटा बोट किवी लगाइसक्नुभएको छ। भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाउनुभएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए।
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवीखेतीमा लाग्नुभएका किसान लालबहादुर घर्तीले सात रोपनीमा किवी लगाउनुभएको छ। विसं २०७५ मा वडा कार्यालयले किवीखेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन्।
घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ। गतवर्ष मात्रै रु. ८० हजारको किबी बिक्री गर्नुभएका उनले १७ रोपनीमा किवीखेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए। पुनले तीन सय वटा किवीका बिरुवा रोपेकोमा अहिले एक सय ७० वटा बोटले फल दिन सुरु गरिसकेको छ। गतवर्ष रु. तीन लाखको किवी बिक्री गर्नुभएका पुनले यसवर्ष बेनी नगरपालिकाको अनुदानमा ८४ वटा पोल र नयाँ बोटसमेत विस्तार गरेको जानकारी दिए।
उचित बजार व्यवस्थापनको चुनौती
अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवीखेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ। गाउँमा उत्पादन नभएको किवी स्थानीय बजारमा खपत हुनसक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा पठाउन थालिएको छ।
किवी पकेट क्षेत्रका रुपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताए। उनका अनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ। नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ।
फलफूलको राजाको उपनामले परिचित किवी समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म खेती गरिन्छ। किवीको बोटमा तीन वर्षमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ। अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रतिआठ वटा पोथी बिरुवा बराबर एक वटा भाले बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ।