विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका अनुसार सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका छन् ।
निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । तीमध्ये ६ सय ८ जना विदेशी र ८६ जना नेपाली पर्यटक रहेका छन् । श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र १ सय ५१ जना नेपाली रहेको जानकारी दिए ।
वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए । "लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन्," उनले भने ।
खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै उनले स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेको उल्लेख गरे । उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेको उनको भनाइ छ ।
स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाएको छ । निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति रु तीन हजार र नेपालीबाट रु एक सय प्रवेश शुल्क लिने गरिएको छ । उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । उनका अनुसार अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन् ।