२९ जेष्ठ २०८२ , बिहीबार

स्रोतमा फोहर वर्गीकरण गर्न नसके व्यवस्थापन दिगो हुँदैन : काठमाडौँ महानगरपालिका

News
२७ जेष्ठ, काठमाण्डौँ ।

काठमाडौँ महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ।

कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो। कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताइन्।

कामपाले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ। कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पतालमा तीन पटकभन्दा बढी अनुगमन गरिएको छ।

सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भएको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रति शय्या प्रतिदिन ०.९९ किलो देखि १.७३ किलोसम्म फोहर उत्पादन हुन्छ। यसरी उत्पादन हुने सङ्क्रामक फोहरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ।