जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँड्ने सवारी साधनलाई लक्षित गरी प्रहरीले वैशाख ३ गतेदेखि १४ गतेसम्म विशेष अभियान चलाएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ।
प्रहरीले कसैले पनि स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा फोन गरी जानकारी दिन अनुरोध गरेको छ।