२१ भाद्र २०८३ , आईतवार

केपिलासगढीमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि गाउँमै राष्ट्रिय परिचयपत्र शिविर

News
२१ बैशाख, काठमाण्डौँ ।

केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन्।

राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन्।

अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक/एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो। गाउँपालिकाको पहलमा पहिलोपटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राही हर्षित बनेका छन्।

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नीति सरकारले लागू गरेपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा गाउँपालिकाको तर्फबाट राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

यही वैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन्। वैशाख १९ गते फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन्। वैशाख २० गते दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६ जनाले सेवा लिएका छन्।

शिविर सञ्चालनका लागि डिभाइसजडित उपकरणसहित जिल्ला प्रशासन कार्यालयको पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेको थियो।

यसपटक आयोजना गरिएको शिविरमा छुटेका लाभग्राही तथा अन्य नागरिकका लागि आगामी साउनमा दोस्रो चरणको शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिएका छन्।