महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ।
जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भएपनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ। अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।
उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागुऔषधका १६७ जना कैदीबन्दी छन। उनले भने, “कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ।”
उनले गत पुषमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५८० सम्म पुगेको बताए। जोशीले भने, “अहिले अदालतले पछि मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ। पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टीनको व्यवस्था गरेर भएरपनि कैदीबन्दी राखेका छौँ।”
कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागुऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय अपराधिक कटना बढेको बताए।
उनले भने, “अहिले लागुऔषधका कारण पनि अपराधिक घटना बढेका छन्। लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगि गर्ने, जबरजस्तीकरणी र हत्यासम्मका घटना हुन्छन्।” लागुऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको उनले बताए।
उनले भने, “साथीभाइको लयलयमा लागेर, मनोरञ्जनका लागि लागुऔषध सेवन गरेको पाइन्छ। एक पटक लागुऔषध सेवन गरेपछि खाउँखाउँ लाग्ने र खुल्ला सिमानाका कारण सहज पहुँचले पनि सेवनकर्ता बढेका छन्।”
जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दी छन्। त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ।