१४ बैशाख २०८२ , आईतवार

कालीगण्डकी कोरिडोरले गुल्मीको सदरमुकाम पुग्न तीन जिल्ला पार गर्नुपर्ने बाध्यता हटायो

News
१ बैशाख, काठमाण्डौँ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट स्याङ्जाको मिर्मी हुँदै गल्याङ, पाल्पाको बर्तुङ र रिडी हुँदै तम्घास जानुपर्ने बाध्यता थियो । सदरमुकाम पुगेर कुनै काम गर्नका लागि कम्तीमा तीन दिनको समय मिलाउनु पथ्र्यो । अहिले कालीगण्डकी कोरिडोर खुलेपछि उक्त समस्याको अन्त्य भएको हो ।

कालीगण्डकी गाउँपालिकाबाट निजी सवारीसाधनमा तीन घण्टामै सदरमुकाम तम्घास पुग्न सकिने स्थानीय विष्णुप्रसाद पाण्डेले बताए । कोरिडोरले गर्दा तीन दिनको समय केही घण्टामै सहज बनाइदिएको पाण्डेले बताए । पहिले स्याङ्जा, पाल्पा हुँदै गुल्मी सदरमुकाम तम्घास जानुपर्ने अवस्थाको झन्झटबाट मुक्त हुँदा समय र पैसा दुवैको बचत भएको स्थानीयको भनाइ छ । कोरिडोरका कारण यस क्षेत्रका कृषक पनि व्यवसायी बन्दै गएका छन् । उत्पादित कृषि उपज सहजै स्याङ्जा, पाल्पा र बुटवलसम्म पु¥याउन सकिने भएकाले बजारको पनि समस्या नभएको कृषकको भनाइ छ ।

रिडी–हर्मीचौर सडकखण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरणको कार्य बाँकी रहेको कालीगण्डकी कोरिडोर गौँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । हर्मीचौर–बलेवा खण्डको ४५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्य कालिका कन्स्ट्रक्सनले गरेको छ । कुल तीन अर्ब ३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने उक्त सडकको ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको र चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने कार्य सम्पन्न हुने खत्रीले बताए ।