९ कार्तिक २०८३ , आईतवार

यातायात कार्यालय झापाले नौ महिनामा ८२ करोड राजस्व सङ्कलन, ९ हजारभन्दा बढी नयाँ सवारी दर्ता

News
२२ बैशाख, काठमाण्डौँ ।

यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ८२ करोड १६ लाख ४८ हजार ४०२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार १६ रुपैयाँ राजस्व सङ्कलन गरेको हो। चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत ६९ करोड ६ लाख २२ हजार ५४२, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख ६० हजार ६६७ र सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार ६५१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए। गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए।

कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन। यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन्।