पाँच वर्ष अगाडिसम्म ओझेलमा रहेको जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको हो।
ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जंघार पार गर्दै जलजाल पुग्न सकिन्छ। शान्त वातावरण र आँखै अगाडि देखिने हिमश्रृङ्खला हेर्न पर्यटक जलजला पुग्ने गर्छन्। ढोरपाटन उपत्यकादेखि २२ किलोमिटर पूर्वमा रहेको जलजलामा बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्। ढोरबराह मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीसमेत यहाँ पुग्न गरेका छन्।
ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले दिएको जानकारीअनुसार पहिले असोजदेखि मात्र पर्यटक जलजला पुग्ने गरे पनि अहिले बाह्रै महिना पर्यटक आउने गरेका छन्। ढोरपाटन उपत्यकादेखि १८ किलोमिटर सवारी साधन र चार किलोमिटर पैदल यात्रामा जलजला पुग्न सकिने उनको भनाइ छ। प्रचारप्रसार र सडक सञ्जालले जोडिन थालेपछि जलजलाको आकर्षण बढेको पुनले बताए।
पुनले भने, “जलजलाको प्रचारप्रसार बढी भएर होला, अहिले टाढा–टाढाबाट पर्यटक आउन थालेका छन्, ढोरपाटन उपत्यकाबाट बाटो सहज बनेको छ, शान्त वातावरण, अनगिन्ती हिमशृङ्खला र प्रकृतिसँग रमाउन चाहनेहरु जलजला आउँछन्।” मासिक रुपमा तीन हजारको हाराहारीमा पर्यटक जलजला पुग्ने गरेको उनले बताए।
समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरीलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँमा उभिएर नजिकै देख्न सकिने पुन बताउँछन्। पर्यटकको सङ्ख्या बढेपछि होलट व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ।
भैरहवाबाट ढोरपाटन घुम्न आएका सुदीप सुवेदीले जलजला निकै सुन्दर रहेको बताए। उनले भने, “अहिलेसम्म मेरो जीवनकालमा यति धेरै हिमाल एकै ठाउँबाट देखेको थिइनँ, यो ठाउँ साँच्चिकै स्वर्गभन्दा कम छैन।”
पोखराबाट आएका नितेश तामाङले जलजला क्षेत्र निकै मनमोहक रहेको बताए। बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्मको सडकमा जोखिमपूर्ण यात्रा भए पनि जलजला पुग्दा छुट्टै आनन्द आउने उनले बताए। सडक र पदमार्गलाई व्यवस्थित गर्न सके बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
ढोरपाटन पुग्ने पर्यटक जलजलासँगै बर्खामा बुकीपाटन पनि पुग्ने गरेका छन्। उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रमा पुग्न सकिने बुकीपाटन निकै मनमोहक छ। यस वर्ष उद्योग तथा पर्यटन कार्यालय बागलुङले पाखाथरदेखि गर्पाछेडासम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिरहेको छ।
उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाले पर्यटकलाई बुकीपाटन पुग्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न थालिएको बताए। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग निर्माण भइरहेको छ।