दुईदेखि तीन दशक अघिसम्म मात्रै धादिङको साबिक सलाङ गाविस (हालको सिद्धलेक गाउँपालिका वडा नम्बर ४) बदाम खेतीका लागि कहलिएको क्षेत्र थियो । आरुबास, भेँडाबारी, गौँथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, वसन्त, इटपानी, झारलाङ्दीलगायत क्षेत्रका माटोमा उत्पादन भएको बदाम मन पराउने पारखी उपभोक्ताहरू देशैभर छन् किनभने यहाँ उत्पादन भएको बदाम पृथ्वीराजमार्ग अन्तर्गत पर्ने सलाङघाट झरेर यात्रुका हातहातमा पुग्ने गर्दथ्यो । अझ, काठमाडौं, पोखरा, चितवनका व्यापारी आई सलाङ बदाम उपभोक्ताहरूमाझ लैजाने गर्दथे । यहाँको बदाम यो बाटो हुँदै हिड्ने देशभरको यात्रुको मुखमा परेको हुनुपर्छ ।
तर, हिजोआज माहोल फेरिएको छ, सलाङमा बदाम खेती नै हुनै छाडेको छ । त्यो लोकप्रिय बदाम आफ्नै थातथलो (सलाङ) मा भेटिन छोडेको छ । बीउ भेट्न गाह्रो छ ।
थोपाल खोला तथा बुढीगण्डकी र त्रिशूली नदीको ठिक माथिको आरुबाससटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा धान, मकै, कोदो हुँदै गर्दा त्यहाँ अहिले तरकारी तथा फलफूल खेती फस्टाएको छ भने त्यसदेखि माथिका बलौटे तथा रातो माटो भएका क्षेत्रहरू भने बाँझा हुन् पुगेका छन् । कसैकसैले गोलभेंडा, बोडी लगाएको देख्न सकिन्छ । कुनै समय नामचिन बदाम फल्ने क्षेत्रहरू अहिले यसै खेर गइरहेका छन् । पहाड रित्ताएर शहरमा मान्छे थुप्रिन थालेसँगै बदाम उत्पादन हुने यी क्षेत्र खेर गएका हुन् ।
एकै किसानले वर्षमा एक सय मुरीसम्म बदाम फलाउथे
माथिल्लो भिरालो पहाडमा यहाँका किसानहरूले बर्सेनि व्यावसायिक रूपमै बदामको खेती गर्ने गरेका थिए । बदाम खेती यस क्षेत्रको परम्परागत मुख्य खेतीकै रूपमा स्थापित भएको थियो । तर, सोही माटोमा हिजो आज तरकारी उत्पादन हुन थालेको ६३ वर्षीय किसान भोजबहादुर बिसुन्खेले बताए । “यहाँको माटो बालुवा, स साना ढुङ्गा मिसिएको हुनाले बदाम खेतीका लागि ज्यादै उपयुक्त थियो । तर आजभोलि धेरै जग्गा खेर गएको छ, बाँकीमा तरकारी लगाएका छौँ । गोलभेंडा लगाएका छौँ । बदाम त लगाउनै छाड्यौँ नि”, उनी भन्छन् ।
आजभन्दा २५/३० वर्ष अघिसम्म सलाङको कोटडाँडा (वराह माईको मन्दिर) तल रहेको भिरालो जमिनमा एकै किसानले वर्षमा १ सय मुरीसम्म बदाम उत्पादन गर्दथे । तर, अहिले सो स्थानका खेतबारी प्रायः बाझै हुने गरेको समेत बिसुन्खेले बताए ।
वैशाखमा लगाएर असोजमा पाक्ने बदाम आफूले पनि ४० मुरीजति उत्पादन गर्ने गरेको उनले सुनाए । गोठाँलो आएका उनले आफैले पनि बदाम खेती गर्न छाडेको वर्षौँ भएको सुनाए । “बदाम खेतीका लागि अन्य खेतीलाई जस्तो मल, सिँचाई र मेहनत पनि गर्न पर्ने होइन । तर, अहिले एक त गाउँबाट खेती गर्न सक्ने युवा जनशक्ति पलायन भए अर्को बदामखेती गर्न अल्छी गर्न थाले । तरकारीबाट बढी कमाइने भएर हो कि”, उनले एक ताका नाम कमाएको बदाम सलाङबाटै लगभग हराइसकेको दाबी गरे ।
सलाङका किसानले उत्पादन गरेको सबै बदाम काठमाडौंबाट घर घरमै व्यापारीहरू आएर उचित मूल्यमा खरिद गर्ने गरेको त्यो सुनौलो विगत सम्झंदै बिसुन्खेले भने, “म आफैँले पनि ५० रुपियाँ पाथीसम्म बदाम काठमाडौंका व्यापारीलाई बिक्री गरेको थिएँ, अहिले आफैँलाई खान मन लाग्दा पनि बदाम छैन ।”
गोठालो भइरहेका स्थानीय कृषक भोजबहादुर बिसुन्खे, तस्बीर: प्रेम बास्तोला
गाउँघरमा एक पाथी पनि बदाम पाउन मुस्किल
यसैगरी, सलाङकोट डाँडा निवासी ८७ वर्षीया सुमिता थापा मगरले २५ वर्ष अघिसम्म खेतबारीमा राम्रो बदाम उत्पादन हुने गरेको दोहोराइन् । बदाम बेचेरै सलाङका किसानहरूले जीविकोपार्जन गर्ने गरेको समेत उनले बताइन् । तर, अहिले आफूलाई खान मन लाग्यो भनेपनि गाउँघरमा एक पाथी पनि बदाम पाउन मुस्किल हुने गरेको उनले सुनाइन् ।
सलाङको बदाम विवाह भई ज्वाइँको घर जाने चेलीहरू, घरमा आउने पाहुनाहरूलाई कोसेलीका रूपमा दुई चार पाथी दिएर पठाउने गरेको विगत सम्झंदै उनी आगाडि भन्छिन्, “अब चेलीबेटी र पाहुनापाछालाई खाजा दिने कुरा छैन । उनीहरूले खाजामा बदाम नमागीदिउन् भन्ने पीर हुन्छ”, उनले यसो भनिरहँदा सलाङकोट छेवैको घर (पुजारी खलक) को भान्छाकोठाको हाँडीतर्फ हेर्छिन् ।
८७ वर्षीया सुमिता थापा मगर
यसैगरी, सलाङ गाउँ पञ्चायत हुँदै गाविससम्म हुँदा त्यहाँको सरकार सञ्चालन गरेका पूर्व प्रधानपञ्च तथा गाविस अध्यक्ष समेत चन्द्रबहादुर आलेमगरका अनुसार परम्परागत रूपमा रैथाने बालीका रूपमा लगाइने बदाम खेतीलाई निरन्तरता दिनका लागि किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू गर्न नसक्दा पनि सलाङबाट बदाम खेती एकाएक हराएको हो ।
बदामखेती गर्ने किसानहरूले नै जमिनबाट बदाम खेतीलाई सदाका लागि विस्थापित नै गरी बर्सेनि टमाटर खेती गर्न थालेको उनले बताए । उनका अनुसार सलाङबाट उत्पादन भएको बदामले काठमाडौं लगायत नेपाल धेरै बजार धानेको थियो । अहिले पनि काठमाडौं लगायतका व्यापारीहरूले भारतबाट बदाम खरिद गरी रातो माटो दलेर ‘धादिङ सलाङको बदाम हो’ भन्दै बिक्री गर्ने गरेको आफूले काठमाडौं जाँदा पाएको मगरले सुनाए ।
पूर्व प्रधानपञ्च तथा गाविस अध्यक्ष समेत चन्द्रबहादुर आलेमगर, तस्बीर: प्रेम बास्तोला
पूर्व प्रधानपञ्च मगर भन्छन्, “बदाम खेती प्रायः भिरालो जमिनमै हुने गर्छ । रातो माटोमा धुलो खाँदै यसको खेती गर्नु पर्ने हुन्छ । अब यसबेलाका मान्छेहरू बडो सुखी भए, धुँलो खादै अब कसले भिरालो जमिनमा बदाम लगाउने ? छाडिहाले नि !”
पूर्व प्रधानपञ्च मगरका अनुसार, सलाङको माटोमा एक वर्ष बिराई बदाम लगाउने हो भने राम्रो उत्पादन दिन्छ । सलाङको वसन्ता भन्ने डाँडाको भिरालो जमिन सबैभन्दा बढी बदाम उत्पादन हुने गरेको उनले बताए । “वसन्ताको बदाम भनेपछि हारालुछ हुन्थ्यो, फल्न पनि त्यतिविधि फल्थ्यो”, उनले अगाडि भने, “एउटै परिवार ४०/५० मुरी बनाउने गर्दथे । अहिले त्यो जमिन त्यसै खेर गइरहेको छ ।”
गाउँबाट युवा जनशक्तिहरू वैदेशिक रोजगारमा गएको र भएकाहरू पनि काठमाडौं शहरतर्फ लागेकाले खेती गर्न सक्ने जनशक्तिको अभावमा सलाङको बदाम एक इतिहास नै समाप्त भएको उनले बताए । “कतैकतै कसैकसैले घरमा खानका दुई चार पाथी बदाम फलाउने गरेका छन्, नत्र छैन । सलाङबाट बदाम हराउला भनेर मैले मात्रै होइन, कसैले पनि सोचेको थिएन, तर हरायो”, उनले भने ।
मगरका अनुसार सलाङको बदाम निकै पोटिलो र लामो आकारमा उत्पादन हुने गरेको थियो । “बदामको दियाली भनि ठुला र पोटिला हुने गर्दथे । भित्र ४ वटा दियाली समेत हुन्थ्यो । ४ वटा दियाली भेट्ने मान्छे भाग्यमानी हुन्छ भन्थे । हामी सलाङवाशी भाग्यमानी थियौं, हाम्रो माटोमा ४ दियाली, ५ दियाली बदाम खुब फल्थ्यो, तर अहिले छैन । हरायो”, उनले भने । उनले बदाम सरह यहाँको हावापानी सुहाउँदो कपास, फापर, पाङ्दुर पनि सलाङबाट हराएको बताए ।
आफू साबिक सलाङ गाविसको अध्यक्ष हुँदासम्म यहाँका किसानहरूले बदाम बेचेरै लाखौँ लाख गाउँ भित्र्याएको जानकारी अहिले पनि उनको मानसपटलमा ताजै रहेको छ । यसैले त उनी भन्छन्, “अझै पनि स्थानीय सरकारले योजना बनाएर यस्ता नाम कमाएका, उपभोक्ताहरूले मन पराएका परम्परागत कृषि उत्पादन कार्यलाई प्रोत्साहन गर्ने हो भने किसानहरूलाई क्रमशः फेरी बदाम खेतीतर्फ ल्याउन सकिन्छ ।” उनले यहाँ उत्पादन भएको बदाम सलाङघाट झारेर पृथ्वी राजमार्ग भएर ओहोरदोहोर गर्ने स्वदेशी-विदेशी यात्रुहरूलाई चखाउन सकिने हो भने सलाङको त्यो पुरानो परिचय पुन: स्थापित हुन् सक्ने समेत बताए ।
बदामको पुनरुत्थान एवं अन्य रैथाने बालीको संरक्षणका लागि सरकारले वडा तहबाटै खेती योग्य जमिनको वर्गीकरण गरी कुन र कस्तो जमिनमा के के खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुरा स्पष्ट पार्न जरुरी रहेको उनले बताए । “कस्तो जमिनमा कुन कृषि बाली लगाउँदा किसानलाई बढी आम्दानी हुन्छ ? भनेर प्राविधिक ज्ञान दिनुपर्छ । उनीहरूले उत्पादन गरेका कृषिजन्य उत्पादनहरूको बजारको ग्यारेन्टी गर्ने हो भने सलाङबाट मात्र नभई समग्र सिद्धलेक गाउँपालिकाबाटै हराएका परम्परागत खेतीलाई पुनः जागृत गराई किसानहरूको जीवन स्तरमा व्यापक सुधार ल्याउन सकिन्छ”, उनले भने ।
कृषि पेशालाई नै प्रमुख प्राथमिकतामा राखेर सिद्धलेक गाउँपालिकाले परम्परागत कृषि पेशालाई व्यावसायिक कृषि व्यवसायको रूपमा विकास गर्दै लैजानका लागि गुरुयोजना बनाएरै अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताए । कृषि गुरुयोजना अनुसार नै बर्सेनि पालिकाले कृषि क्षेत्रको विकासमा किसानमैत्री योजनाहरू ल्याइरहेको उनले बताए । परम्परागत रूपमा सलाङ लगायत क्षेत्रमा उत्पादन हुने बदाम लगायतका खेतीहरूलाई थप व्यवस्थित गर्दै व्यावसायिक रूपमा पुनः खेतीको शुरुवात गर्न पालिका लागिपरेको पालिका अध्यक्ष खतिवडाले सुनाए । “निर्यातमुखी कृषि उत्पादनलाई (विशेष गरेर नगदेबाली, तरकारी खेती, फलफुल खेती) सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रेरित गर्ने र सकेसम्म समन्वयात्मक ढङ्गले अघि बढ्ने छ”, उनले अगाडि भने, ‘यस रणनीतिले कृषकहरू लाभान्वित हुनेछन् ।”
अध्यक्ष खतिवडाले पालिकाले कृषक समूहलाई परिचालन गरी सहकारीतामा जोड दिने र सहकारी मार्फत कृषकलाई आत्मनिर्भरतातर्फ उन्मुख गराइने योजना बनाएको समेत बताए । विभिन्न सरकारी तथा वित्तीय संस्थाहरू मार्फत कृषकहरूलाई सरल, सुलभ ऋणको लागि पहल गरिने र उन्नत बीउविजन स्थानीय तहमा नै उपलब्ध र उत्पादन गराउन विशेष पकेट प्याकेज कार्यक्रमहरूलाई व्यवस्थित गर्ने लक्ष्य पालिकाले लिएको खतिवडाले बताए । उनका अनुसार सिद्धलेक गाउँपालिकाको कुल क्षेत्रफल १०६.३६ वर्ग किलोमिटर रहेको छ, जसमध्ये ५८.६९ वर्ग किलोमिटर कृषियोग्य जमिन रहेको छ ।
यस्ता छन्, बदामका फाइदा
चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरीरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दूध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।
- तौल कम गर्छ:
बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईँको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।
- एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुर:
बदाममा एन्टिअक्सिडेन्ट र मिनरल्स पर्याप्त मात्रामा हुने भएकाले स्ट्रोक र मुटुसम्बन्धी समस्याको खतरालाई कम गर्छ । बदाममा पाइने ट्रिप्टोफेनले डिप्रेशनको समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ ।
- फाइटोस्टेरोलको मात्रा अत्यधिक:
बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट जोगाउँछ । अमेरिकामा भएको एक अनुसन्धान अनुसार हप्तामा कम्तीमा दुईपटक बदामको सेवन गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो ।
- मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ:
बदाममा मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ । यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियम एब्जोर्प्रशन र ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्दछ । विभिन्न शोधको रिपोर्ट अनुसार बदामको सेवनले मधुमेहको खतरा २१ प्रतिशत कम हुने गर्छ । यदि तपाईँलाई मधुमेह छ भने तपाईँले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
- मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट पाइन्छ:
बदाममा मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट भरपुर मात्रामा पाइन्छ । विशेष गरी बदाममा पाइने फोलिक एसिडले रगतमा ब्याड कोलेस्ट्रोललाई कम गर्दै गुड कोलेस्ट्रोलको स्तर बढाउने गर्छ । यसले शरीरमा कोलेस्ट्रोलका स्तरलाई पनि ब्यालेन्स गर्नुका साथै कोरोनरी आर्टरी डिजिजबाट शरीरलाई सुरक्षित राख्ने गर्छ ।
- फोलिक एसिडको स्रोत:
बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने बदाम खान सुरु गरिहाल्नुहोस् । यसको शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।
- छालाका लागि उत्कृष्ट:
बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।
- भिटामिन सी भरपुर:
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।
- अन्य फाइदा:
विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्था अघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदामको सेवन गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ । यसबाहेक बदामको सेवनले शिशुमा दम हुने खतरा पनि कम हुन्छ ।
बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ !
प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्याउन सक्छ ।बदामलाई मात्रा मिलाएर नखाँदा यसले कब्जियतको समस्या ल्याउन सक्छ । किनकि यसमा उच्च मात्रामा प्रोटिन चिल्लो र फाइबर हुन्छ । साथै बदामको बोक्रामा बायोएक्टिम पोषक तत्व हुन्छ । जसलाई शरीरले सजिलै पचाउन सक्दैन । जसले पेटसम्बन्धी विभिन्न समस्या ल्याउन सक्छ । त्यसैले व्यायाम नगर्ने मानिसले यसको प्रयोग नगर्न पनि सुझाव दिइन्छ । खाएर सुत्ने वा टेबल वर्क गर्ने मान्छेले यसको दैनिक सेवनले फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । यसैकारण बदामलाई एक रातअघि नै भिजाएर वा बोक्रा निकालेर खानु उपयुक्त मानिन्छ । एकपटकमा पाँचदेखि २० वटासम्म खानु फाइदाजनक मानिन्छ ।
टुरशाला