१४ बैशाख २०८२ , आईतवार

सडक विस्तारसँगै मुस्ताङमा बढ्यो शालिग्रामको अवैध कारोबार

News
१ बैशाख, काठमाण्डौँ ।

मुस्ताङ जिल्ला प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ओसारपसार भइरहेको शालिग्राम शीला बरामद गरेको छ। जिल्लाको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ८९४ किलोग्राम शालिग्राम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, विभिन्न समयमा गरिएको जाँचका क्रममा ३४ वटा सेतो बोरामा प्याक गरेर लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको शालिग्राम फेला परेको हो।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागेर जाँच गर्दा उक्त अवैध शालिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

प्रहरीले अवैध शालिग्रामसहित जीप, चालक र शालिग्रामका धनी लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङलाई नियन्त्रणमा लिएको छ। गुरुङले उक्त शालिग्राम अवैधरूपमा जोमसोमतर्फ ल्याउँदै गर्दा पक्राउ परेको प्रहरी निरीक्षक अधिकारीले बताए।

बरामद शालिग्राम, जीप, चालक र धनी गुरुङलाई आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालयमा बुझाइएको थियो। एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार, थप अनुसन्धानका लागि सबैलाई एक्यापको पोखरास्थित प्रधान कार्यालयमा पठाइएको छ।

हिन्दू धर्मावलम्बीहरूका लागि मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा पाइने शालिग्राम भगवान् विष्णुको प्रतीकका रूपमा अत्यन्तै पवित्र मानिन्छ। ठूलो परिमाणमा यसको व्यावसायिक ओसारपसारलाई गैरकानुनी मानिन्छ र मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले यसमाथि कडा निगरानी राख्दै आएका छन्। यद्यपि, व्यक्तिगत प्रयोजनका लागि थोरै संख्यामा शालिग्राम खरिद गरी लैजान छुट दिइएको छ।

पछिल्लो समय मुस्ताङमा सडक सञ्जाल विस्तार भएसँगै शालिग्रामको अवैध उत्खनन र ओसारपसार बढ्दो क्रममा रहेको देखिन्छ। मुस्ताङ घुम्न आउने पर्यटक तथा तीर्थयात्रीहरूले व्यक्तिगत रूपमा खरिद गर्दा पनि ठूलो मात्रामा शालिग्राम जिल्ला बाहिरिने गरेको छ, जसले गर्दा यसको संरक्षणमा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन्। कागबेनी, मुक्तिनाथ, जोमसोम जस्ता बजारहरूमा फुटकर रूपमा शालिग्राम बिक्री वितरण हुँदै आएको छ।