पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, धादिङ गल्छी गाउँपालिका-२ बस्ने २४ वर्षीय रोजन भुजेललाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकखण्डमा नेपालबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई रोकेर सोधपुछ गर्दा शंका लागेपछि थप अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा रोजन भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रोजन भुजेललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।