कालिकोटका दृष्टिविहीन परिवारलाई आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ मा आवास निर्माण थालिएको छ।
तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो। तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन्। मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनुहुन्छ।
आमा रुपा गन्धर्वसहित उनीहरू २०६८ सालमा दाङको तुलसीपुर झरेका थिए। सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्काे विवाह गरेको रुपाले बताइन्।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उहाँहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आउनुभएको थियो। घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताए।
करिब रु १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताएका छन्। अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनको भनाइ छ।
दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन्। हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा रु सात लाख सहयोग सङ्कलन भएको थियो। त्यो रकम बैंकमा मुद्दति खातामा छ। त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ।