४ जेष्ठ २०८२ , आईतवार

असिनापानीले कालिकोटको स्याउखेतीमा क्षति, किसान चिन्तित

News
२३ बैशाख, काठमाण्डौँ ।

यही वैशाख १७ गते राति परेको असिनापानीले कालिकोटको स्याउखेतीमा क्षति पुर्याएको छ।

गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो। स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर–३ का किसान दीपक बुढाले बताए।

जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ। सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन्। गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ।

असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ। स्याउ किसान नुर्बु लामाका अनुसार गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ। गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताए।

असिनाले स्याउलगायत जौँ, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ। जौँ र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएका छन्।