२७ बैशाख २०८२ , शनिबार

भारतबाट फर्किँदै गरेका गोर्खाका चेतबहादुर पन्त बसभित्रै मृत फेला

News
२७ बैशाख, काठमाण्डौँ ।

भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली नागरिक बसभित्रै मृत फेला परेका छन्। बाँकेको नेपालगञ्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिएका छन्।

बिहारबाट रुपैडिहातर्फ आउँदै गरेका पन्त गोर्खाको गण्डकी गाउँपालिका, फुजेलका बासिन्दा रहेको खुलेको छ। डीएसपी पातलीका अनुसार, उनको साथमा रहेको नागरिकताका आधारमा पन्तको पहिचान खुलेको हो।

रुपैडिहास्थित भारतीय प्रहरीले पन्तको शव भारतकै एक अस्पतालमा राखिएको जनाएको छ। बिहारबाट रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले मृतकका आफन्तहरू प्रहरीको सम्पर्कमा आइसकेको र उनीहरूलाई घटनाको जानकारी गराएर बोलाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।