२७ बैशाख २०८२ , शनिबार

ललितपुरको गोदावरी नगरपालिकाले जैविक प्रविधिबाट पहिरो नियन्त्रण गर्दै

News
२७ बैशाख, काठमाण्डौँ ।

ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रणको कार्य अगाडि बढाएको छ। नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण थालेको हो।

गोदावरी नगरपालिका-२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवा रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिबाट गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले यसको प्रयोगलाई पालिकाले विस्तार गर्दै जाने बताए।

गोदावरी-२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राखे। भेटिभर प्रविधि अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै उनले पहिरोको उच्च जोखिम रहेको नेपालजस्तो देशमा यसको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिए।

काठमाडौं उपत्यकासहित गोदावरीमा पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएकाले त्यसको प्राकृतिक समाधानका रूपमा भेटिभरलाई लिइएको वडाध्यक्ष सिलवालले बताए। संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशकका रूपमा घोषणा गरेको सन्दर्भमा यो प्रणाली पुनःस्थापनामा भेटिभरको प्रयोगलाई जोड दिइएको उनको भनाइ छ।