२८ जेष्ठ २०८२ , बुधबार

घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि र पूर्वाधारलाई प्राथमिकता

News
२७ जेष्ठ, काठमाण्डौँ ।

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

विगतका वर्षदेखि सञ्चालनमा रहेका लाभदायक कार्यक्रमको निरन्तरतासँगै स्थानीय स्रोतसाधनको उपयोग गर्दै पालिकाको गौरव बढाउने किसिमका आयोजनालाई प्राथमिकता दिने र टुक्रे आयोजनालाई निरुत्साहित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए।

नीति तथा कार्यक्रममा कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकता दिँदै नगरलाई समृद्ध बनाउने कार्यक्रम अवलम्बन गरिने उल्लेख छ। घोराहीको पहिचानलाई अझ माथि उठाउनसक्ने योजनालाई अघि सारिएको छ।

उपमहानगरले किसानलाई समयमै कृषि सूचना आदानप्रदान गर्ने, समस्या पर्दा प्राविधिक सहयोग बढाउने, चालु आवदेखि कार्यान्वयनमा ल्याइएका घोराही कृषि मोबाइल एपमा किसानको पहुँच विस्तार गर्ने जनाएको छ।

खाद्यान्न बाली, तेलहन, दलहनलगायत मुख्य बालीमा आत्मनिर्भरता हासिल गर्न, निर्यात प्रवर्द्धन गर्न, मूल बीउ तथा उन्नत जातका बीउमा कृषकलाई दिइँदै आइएको अनुदान कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘स्वस्थ पशु स्वच्छ उत्पादन’अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र ‘डोर टु डोर’जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलहरी, शारीरिक अशक्त, एकल महिला भएका परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने, खेतीबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई, भैँसीको भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ।

बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले भूमि बैंकसम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ।

यसैगरी, पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने भएको छ। आयोजनाको गुणस्तर परीक्षण गर्न घोराही उपमहानगरपालिकाको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाका लागि आवश्यक पूर्वाधार तयारीको सुरुआत गरिने भएको छ।

सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नापनक्सासम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडि बढाइने उल्लेख गरिएको छ।

यसैगरी, विद्यार्थीको सङ्ख्यालाई मुख्य आधार मानी नमुना विद्यालयको पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। खानेपानी, शौचालय, फर्निचारलगायत अत्यावश्यक पूर्वाधारको व्यवस्थापन गर्दै नमुना सामुदायिक विद्यालयलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने भएको छ।

थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने नीति तथा कार्यक्रममा समावेश छ। मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई सञ्चालन गरिने, विद्यार्थी सङ्ख्याका आधारमा बालविकास केन्द्र, प्रावि, निमावी तथा मावि तहमा कार्यरत शिक्षकको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिने भएको छ।

वडा नं १६ को नेत्रलाल स्मृति रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण अगाडि बढाइने नगरप्रमुख चौधरीले बताए। उनका अनुसार महिलाको स्वास्थ्यका क्षेत्रमा पनि प्रभावकारी कार्यक्रम गर्ने नीति अख्तियार गरेको छ।

शून्य वा न्यूनतम फोहरमैला वा फोहर पानी उत्सर्जन गर्ने उद्योगलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागितामा सञ्चालन हुने मानव मलमूत्रजन्य फोहर, ठोस फोहर पदार्थ र फोहरपानीबाट ग्यास, ऊर्जा, मल तथा अन्य लाभकारी वस्तुको उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

पालिकाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रशासनिक संयन्त्र चुस्तदुरुस्त बनाई कर्मचारीको आवश्यकताका आधारमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ।

घोराही उपमहानगरको नगरसभा सदस्य ९८ जना छन्। सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको दफाबार छलफल पछि पारित हुनेछ। नगरसभाको अर्को बैठक यही जेठ २९ गते दिउँसो २ बजेका लागि तोकिएको छ।