१४ बैशाख २०८२ , आईतवार

सुरु भयो पहिलो रेड पाण्डा महोत्सव

News
२ बैशाख, काठमाण्डौँ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सोमबारदेखि हुर्लुङमा सुरु भएको छ। लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दुई दिने महोत्सवको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे।

दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजित महोत्सवमा विभिन्न जातजातिको संस्कार, संस्कृति, रैथाने खाना, वेषभूषा र स्थानीय उत्पादनका कक्षहरू राखिएका छन्। नयाँ वर्षको अवसर पारेर रेडपाण्डा र थारसम्बन्धी तस्वीर तथा भिडियोहरू पनि प्रदर्शनमा राखिएका छन्।

महोत्सवको अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का सद्भावनादूत अभिनेता दयाहाङ राईले उक्त पदमार्गको औपचारिक शुभारम्भ गरेका हुन्।

नगर उपप्रमुख विशन राईका अनुसार सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो रुटको थालनी गरिएको हो। करिब तीन दिनको यात्रामा पूरा हुने उक्त रुटमा रुपाकोटमा बास बस्ने र जुहारी खेल्ने कार्यक्रम राखिएको छ।

महोत्सवमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, स्थानीय प्रशासनका प्रमुख, अभिनेता दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्ता लगायतको उपस्थिति रहेको छ।

उद्घाटन कार्यक्रममा वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका थिए।

गत पुसमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। खोटाङ र भोजपुरका विभिन्न स्थानीय तहले पनि भ्रमण वर्षको अवसरमा विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन्।