२६ मंसिर २०८२ , शुक्रबार

चलचित्र पत्रकार संघ बाँकेले दुई जनालाई सम्मानित

News
५ जेष्ठ, काठमाण्डौँ ।

चलचित्र पत्रकार संघ नेपाल बाँकेले आफ्नो २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा रहेका एक नृत्य निर्देशक र एक पत्रकारलाई सम्मान गरेको छ।

आज आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो। सुवेदीले मोफसलमा रहेर दर्जनौं म्युजिक भिडियो र लघुचलचित्र निर्देशन गरेका छन्। पत्रकार गिरीलाई चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले कलाकार, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काका परिपूरक भएको उल्लेख गर्दै चलचित्र पत्रकार संघले सबै निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार निरज गौतम, सङ्गीतकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङ र सङ्घका अध्यक्ष रामचन्द्र पौडेलले पनि आ-आफ्नो धारणा राखेका थिए।