एकीकृत समाजवादीकी नेतृ तथा पूर्व सहरीमन्त्री रामकुमारी झाँक्रीले शिक्षकहरू आन्दोलनमा उत्रिएर रमिता देखाएको टिप्पणी गरेकी छन्। उनले शिक्षकहरूलाई विद्यालय फर्केर पठनपाठन सुचारु गर्न आग्रह गर्दै जारी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै झाँक्रीले भनिन्, "अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो। मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखे ।"
उनले शिक्षक, सरकार र संसदको बीचमा समन्वय गराउन धेरै प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नभएको बताइन्। "उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?" उनले प्रश्न गरिन्।
झाँक्रीले राज्यको तलब खाएका शिक्षक कर्मचारीले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौँ विद्यार्थीको भविष्य अन्योल बनाउन नमिल्ने बताइन्। निजी स्कुलले धमाधम भर्ना गरेर कक्षा चलाउन थालिसकेको अवस्थामा शिक्षकहरूले आन्दोलन गर्नु उचित नभएको उनको भनाइ छ।
उनले शिक्षकहरूलाई बीएलईको नतिजा शून्य भएका विद्यालयहरूमा सुधार गर्न र आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आग्रह गरिन्। सरकारले ऐन ल्याउने प्रतिबद्धता जनाएको र विधेयक समितिमा छलफलमा रहेकोले अब विद्यालय फर्किन उनले आग्रह गरिन्।
झाँक्रीले जिम्मेवार नेताहरूलाई शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएर रमिता नगर्न आग्रह गर्दै भनिन्, “बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ।”
सम्बन्धित समाचारः
शिक्षक महासंघको आन्दोलन जारी, प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन