नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी राख्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति भएको दुई घण्टा लामो भेटवार्ता सकारात्मक नभएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँगको संवादबारे जानकारी दिँदै शिक्षकका मागहरू स्पष्ट रूपमा राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको बताएका छन्। उनले विगतका सहमति सम्बोधन गर्दै स्पष्ट ऐनमार्फत शिक्षकको हक र अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताए।
प्रधानमन्त्रीसँगको भेटमा शिक्षक-कर्मचारीका माग, विद्यालय शिक्षा ऐन जारी गर्ने आवश्यकता र आन्दोलनका कारण उत्पन्न परिस्थिति लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्न सक्ने विषयमा छलफल गरेर निर्णय लिने र ऐन जारी गर्न तत्परता देखाउने आश्वासन दिए पनि महासंघले आन्दोलनको विकल्प नदेखेको जनाएको छ।
यसैगरी, महासंघको टोलीले शुक्रबार राति नै सभामुख देवराज घिमिरेसँग पनि भेट गरी विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने उपायबारे छलफल गरेको थियो।
महासंघले आन्दोलनमा सहभागी शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई मर्यादित र अनुशासित भएर आन्दोलनमा डटिरहन आग्रह गरेको छ। अध्यक्ष सुवेदीले आन्दोलनकै माध्यमबाट शिक्षकहरूले विगतमा उपलब्धि हासिल गरेको स्मरण गराउँदै आगामी दिनमा पनि न्याय सुनिश्चित हुने विश्वास व्यक्त गरे।
महासंघको टोलीमा अध्यक्ष सुवेदीसँगै सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।