ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्।
मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्। बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राखेका थिए।
उहाँले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्नसमेत निर्देशन दिएका छन्।
भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए। उक्त क्षेत्रमा तीनवटा विद्युत् टावर बन्न बाँकी रहेको उनको भनाइ थियो।